बिर्तामोड / मेचीनगर नगरपालिका –१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले तीन करोड रुपैयाँको लगानीमा नन्दा फुड इन्डस्ट्रिज सञ्चालनमा आएको छ । 

स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलको संयुक्त लगानीमा सुरु भएको उद्योगले दैनिक एक हजार केजी ‘न्युट्रेला’ उत्पादन गर्दै आएको छ । 

OM Sai Pathibhara Hospital

भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चापदार्थ ल्याएर उत्पादन गरिएको न्युटेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताए ।

इन्डस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् । “स्थानीयवासीलाई रोजगारी पनि मिल्ने र उनीहरूकै श्रम सीपको प्रयोग गरेर उत्पादन गर्न सकिने हुँदा हामीले तत्काल न्युटेला उत्पादन सुरु गरेका छौं”, सञ्चालक घिमिरेले भने, “निकट भविष्यमा नन्दा कर्नफ्लेक्स र चोकोफोनको समेत उत्पादन गर्छौँ ।”

इन्डस्ट्रिजले हाल नन्दा सुजीको समेत प्याकेजिङ गर्दै आएको छ । दैनिक दुई हजार केजी न्युटेला उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल नमूना परीक्षणका लागि एक हजार केजी मात्र उत्पादन गर्दै आएको बताए । 

एक महिना अघि सञ्चालनमा आएको इन्डस्ट्रिजबाट उत्पादित न्युटेला दसैँ तिहार पछाडि देखि पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरमा समेत पठाउने तयारी गरिरहेको उनले जानकारी दिए ।