विराटनगर / एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल ४० अर्ब आठ करोड १९ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ ।

सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

आर्थिक वर्ष २०७६/७७ को तुलनामा १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए ।

उनका अनुसार सो वर्ष कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सोही वर्ष कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख १७ हजार रुपैयाँले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरेको थियो ।

गएको आर्थिक वर्षमा कोभिड –१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापारिक कारोबार ठप्प हुनु, आयात निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।

 उनले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको चर्चा गरे ।