बिर्तामोड / राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार तिरेर ल्याएको सामान नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले विरोध गरेका छन् ।

झापाको भद्रपुरस्थित भन्सार कार्यालयबाट राजस्व तिरेको सामान राजस्व कार्यालयले नियन्त्रणमा लिएपछि व्यापारी र कारोबारीले भद्रपुरमा विरोध गरेका हुन् ।

OM Sai Pathibhara Hospital

भद्रपुरका कपडा व्यापारी रञ्जित रायले मङ्लबार बिर्तामोडको अंशु इन्टरप्राइजेज फममा राजस्व तिरेको दुइ पोका कपडा भेनमा लैजाँदै गर्दा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वको टोलीले भ्यान नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको कपडा अनुसन्धान अधिकृत ओझाले इटहरी लैजान लाग्दा राजस्व तिरेको सामान लैजान नदिने भन्दै व्यापारी र कारोबारी आन्दोलित बनेका थिए ।

घटनास्थलमा झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, भद्रपुर –५ का वडाध्यक्ष बन्धु कार्की र वडा प्रहरीको टोली समेत पुगेको थियो । अनुसन्धान अधिकृतले नियन्त्रणमा लिएको सामानको  परिणाम गणना गर्दा सामान भन्सारलाई बुझाएको प्रज्ञापन पत्र अनुसार नै पाइएको थियो ।

व्यापारी रायले भन्सारमा २५० पिस रेडिमेट सर्टको ३२ हजार आठ सय ३९ रुपैयाँ र ९० पिस ज्याकेटको ३३ हजार ३२ रुपैयाँ राजस्व तिरेको प्रज्ञापन पत्रमा उल्लेख छ । अनुसन्धान अधिकृत ओझाले पत्र अनुसार सामान सही भएपनि माथिको आदेश भन्दै सामान छोड्न नमानेपछि पुनः विवाद बढेको थियो ।

व्यापारी र जनप्रतिनिधिहरूले सो कुरामा चर्को विरोध गरेपछि अनुसन्धान अधिकृतले राति आठ बजे वडा प्रहरी कार्यालयमा सामान जिम्मा लगाएका थिए ।