एजेन्सी / भारतमा हिन्दुवादी समूह अखिल भारतीय अखण्ड परिषद्का प्रमुख नरेन्द्र गिरीले आफ्नै आश्रममा आत्महत्या गरेका छन् । उनले उत्तर प्रदेशको प्रयागराज सहरस्थित आफ्नै आश्रममा सोमबार राती आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उनले नेतृत्व गरेको अखण्ड परिषद् भारतीय साधुहरुको सबैभन्दा ठूलो धार्मिक संगठन हो । आत्महत्या गर्नुअघि उनको आश्रमबाट प्रहरीले सुसाईड नोट फेला पारेको छ । ‘हामीले सुसाईड नोट जाँच गरिरहेका छौं । उनी दुःखित बनेको नोटमा उल्लेख छ’, प्रयागराजका प्रहरी अधिकारी केपी सिंहले भनेका छन् । नरेन्द्रको आत्महत्यालाई लिएर उनका शिष्य आनन्द गिरी पक्राउ परेका छन् ।
उनको मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, समाजवादी पार्टी प्रमुख अखिलेश यादवसहित अन्य राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गरेका छन् ।