बिर्तामोड / सरकारले रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ ।

अर्थमन्त्री जर्नादन शर्माले संसद्मा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई सो रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

अघिल्लो सरकारले पेश गरेको बजेटमा थप हुनेगरि उक्त रकम विनियोजन भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।  

सञ्जेलका अनुसार बजेट थपसँगै अब रासायनिक मल खरिदका लागि यो वर्ष कुल विनियोजन हुने रकम १५ अर्ब रुपैयाँ पुगेको छ । 
ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । 

१२ अर्ब रुपैयाँमा अहिलेको बजार मूल्यअनुसार तीन लाख मेट्रिकटन रासायनिक मल खरिद गर्न सकिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । 

बजेटले बाली तथा पशु बिमामा अनुदानको आकार बढाएसँगै ३५ करोड रुपैयाँ बजेट भएको छ । कृषि बाली तथा पशु बिमाको प्रिमियम अनुदान ५० बाट बढाएर ८० प्रतिशत पुर्‍याइए पछि थप ३५ करोड बजेट उक्त शीर्षकमा थप भएको मन्त्रालयले जनाएको छ ।