बिर्तामोड / गत भदौ  २१  गते बिहान  सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङका तेज  बहादुर कार्कीको परिवार नै सखाप बनाउने गरी भएको विभत्स घटनामा तेज बहादुरका आफन्त समेत रहेका परिवारका ५ जनाको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

यसअघि हत्यामा संलग्न भनेर प्रहरीले सार्वजनिक गरेका लोक बहादुर कार्कीलाई देखाएर अन्यले कानुनी कारवाहीबाट उम्कने कोसिस गरेको समेत प्रहरीले जानकारी गराएको छ । लोक बहादुर मानशिक रोगी प्रमाणित हुने र सजाय कम हुने ठानेर हत्यामा संलग्नले योजना बनाएको समेत अनुसन्धानका क्रममा खुलेको छ ।

तेज बहादुरको परिवारका छ जना सदस्यको विभत्स तवरले भएको हत्यामा छिमेकी अनि नातामा भाइ समेत रहेका लोकबहादुरका बुवा रणबहादुर र काका खड्ग बहादुरको परिवारका पाँच जना सदस्य संलग्न रहेको भन्दै प्रहरीले पक्राउ परेकालाई सोमबार सार्वजनिक गरेको छ ।

तेज बहादुरसँगको रिसईवी र घरमा भएको पैसा लुटपाटको उद्देश्यले पक्राउ परेका ५ जनाकै संलग्नतामा हत्या गरिएको प्रहरीले निष्कर्ष समेत निकालेको छ । केही समय अघि प्रहरीले लोक बहादुर एक्लैले हत्या गरेको भन्दै उनलाई सार्वजनिक गरेको थियो । लोक बहादुर एक्लैले आधा घण्टाको समयमा छ जनाको हत्या गर्न नसक्ने निष्कर्षमा पुगेका अनुसन्धानमा खटिएका प्रहरीले लोक बहादुर पक्राउ पछि पनि अनुसन्धानलाई जारी राखेको थियो ।

हत्या पछि खड्ग बहादुर र रणबहादुरकै घरमा बसेर अनुसन्धानमा जुटेका प्रहरी अधिकारीले घटना भएको दुई साता पछि आफैं बसेको घरका मुख्य सदस्य सहितलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलन गरी प्रहरीले विभत्स हत्याकाण्डको मुख्य योजनाकार भन्दै तेज बहादुरका भाइ एवं यसअघि पक्राउ परेका लोक बहादुरका काका खड्ग बहादुर कार्कीलाई सार्वजनिक गरेको छ । प्रहरीले लोक बहादुरका बुवा रण बहादुर , लोक बहादुरका भाइ नरेश , लोक बहादुर र मुख्य योजनाकार मानिएका खड्ग बहादुरका छोरा हस्त बहादुर कार्कीको हत्यामा संलग्नता रहेको भन्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका ५ जनाले नै तेज बहादुरले हेप्ने , गाली गर्ने र अपमानित गर्ने गरेकाले उनको हत्या गरी घरमा जग्गा किन्ने भनेर जम्मा गरी राखेको पैसा लुट्ने योजना बनाएर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

मुख्य योजनाकार खड्ग बहादुर नियमित रुपमा मादक पदार्थ सेवन गरी परिवारमा झगडा गर्ने गरेको अनि त्यो वेला तेज बहादुरले हप्काउने र सम्झाउने गरेको समेत अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी गराएको छ । घटनामा मारिएका तेज बहादुरले लोक बहादुर , नरेश र रण बहादुर सम्मलाई अपमानित गर्ने गरेकाले मिलेमतोमा हत्या गरेको प्रहरीले बयानका क्रममा खुलेको जनाएको छ ।

पक्राउ परेकाले योजना नै बनाएर हत्या गरेको भएपनि पक्राउ परेका बिच जो पक्राउ पर्छ उसैले मात्रै जिम्मा लिने समझदारी भएको समेत प्रहरीले जानकारी गराएको छ ।

यसअघि पक्राउ परेका लोक बहादुरले आफू एक्लैले हत्या गरेको बयान दिएपनि विभत्स तवरले मारिएकी बुहारी रञ्जनाको मोबाइल नरेशका भाइले चलाएको पाईएपछि प्रहरी उनीहरूलाई पक्राउ गर्न सफल बनेको हो ।

रञ्जनाको मोबाइल साथमा भेटिएपछि पक्राउ परका लोक बहादुरका भाइ नरेशले दिएको बयान पछि लोक बहादुर समेतले हत्या मिलेर गरेको बयान दिएको प्रहरीले जानकारी गराएको छ । लोक बहादुर र नरेशको बयानका आधारमा पक्राउ परेका ५ जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी अनुसन्धान पुरा भएको जनाएको छ ।