बिर्तामोड / नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट साट्न शुरु गरेको छ । बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधारणका लागि नोट साट्न शुरु गरेको हो । 

राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरूले पनि आफ्ना ग्राहकहरूलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरूले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरूबाट नयाँ नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । 

राष्ट्र बैंकले सर्वसाधारणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरू वितरण गर्ने तयारी राष्ट्र बैंकको छ ।