बिर्तामोड / सङ्खुवासभाको मादीमा भएको विभत्स हत्याकाण्डमा संलग्न रहेको आशङ्कामा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । थप चार जना पक्राउ परेसँगै हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले यसअघि छिमेकी र नातेदार समेत रहेको लोक बहादुर कार्की र उनका भाइ नरेश कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्की दाजुभाइको बयानका आधारमा थप चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital



गत भदौ २१ गते बिहान स्थानीय तेज बहादुर कार्की परिवारका ६ जनाको विभत्स तवरले हत्या लोक बहादुर कार्कीले गरेको भनेर प्रहरीले पत्रकार सम्मेलन नै गरेर दावी गर्दै उनलाई सार्वजनिक गरेको थियो । करिव आधा घण्टाको समयमा फरक–फरक स्थानमा छ जनाको हत्या गर्न सम्भव नरहेको र प्रहरीले अभियोग प्रमाणित गर्न प्रमाण समेत नजुटाएको भनेर प्रश्न उठिरहेका वेला प्रहरीले छ जनालाई पक्राउ गरेर घटनाका विषयमा अनुसन्धान गरिरहेको खुलेको हो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सुरुमा पक्राउ परेका लोक बहादुरको बयानका आधारमा उनका भाइलाई पक्राउ गरेपछि थप व्यक्तिको समेत नाम खुलेकाले उनीहरूलाई समेत पक्राउ गरिएको जानकारी गराएका छन् । प्रहरीले पक्राउ परेका अन्य चार जनाको भने यो समाचार तयार पार्दा सम्म नाम खुलाएको छैन ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर मातहतको रिट, संघीय एकाइ प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय खाँदवारीका प्रहरी यतिबेला पनि सङ्खुवासभामा नै बसेर सो घटनाका विषयमा अनुसन्धान गरिरहेको बताईएको छ । हत्याका विषयलाई लिएर नागरिक स्तरबाट दवाव बढेपछि प्रहरीले लोक बहादुरलाई सार्वजनिक गरी थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतको भनाई छ ।

प्रहरी भित्रै समेत थोरै समयमा एकै व्यक्तिले छ जनाको हत्या गर्न नसक्ने भनेर आलोचना भईरहेका वेला प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा थप चार जना पक्राउ गरेपछि सामूहिक हत्याको घटनामा सामूहिक संलग्नता रहेको खुलेको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविनराज राईले हत्याका विषयमा अनुसन्धान जारी रहेको र घटनास्थलमा नै रहेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएका छन् ।