एजेन्सी / अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ ।  उनको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । 

सन् २०१९ मा राजीनामा गर्नु अघिसम्म उनले झण्डै दुई दशक अल्जेरियामा शासन गरेका थिए ।  उनले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिएका हुन् । देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहेका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिएका थिए । 
आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उनले बताएका थिए । उनले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो ।
आन्दोलनबाट सत्ताबाट बाहिरिएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आएका थिए । उनी लामो समयदेखि सार्वजनिक भएका थिएनन् । फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उनी पहिलो पटक सन् १९९९ मा राष्ट्रपति भएका थिए । 
फ्रान्सेली उपनिवेश हटाउने सङ्घर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो । देशलाई उपनिवेशबाट मुक्त गराउने सङ्घर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उनले गरेको योगदानका कारण उनी उच्च सम्मानित थिए ।