काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भन्दै राज्यले दिगो  ढङ्गले सोच्नुपर्ने बताएका छन् । 

तिमिल्सेनाले बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै सो कुरा बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भने –“राउटेलाई पैसा र सरसामान दिएरमात्र तिनको जीवनस्तरमा सुधार हुँदैन, यस्तो सहयोग दुरुपयोग हुन थालेको सुनिने गरेको छ ।”

सहयोग सामग्री हस्तान्तरण गर्न सल्यानको वनगाड कुपिन्डे नगरपालिका– १ घाटगाउँस्थित राउटे बस्तीमै पुगेका उनले भने, “राउटे भाषा, संस्कृति र जीवनशैलीको संरक्षण हुने गरी विशेष नीति तथा कार्यक्रम सञ्चालन गरिनुपर्छ र यस्मा स्थानीय तहले पनि बढी ध्यान दिनुपर्छ । ” 

उनले चेतना (शिक्षा), स्वास्थ्य र आवासमा ध्यान दिन नसके राउटे छिट्टै लोप हुने चिन्ता पनि व्यक्त गरेका छन् । कर्णाली प्रदेशसभा सदस्य गुलाबजङ्ग शाहले राउटेलाई मदिराको कुलतबाट जोगाउनु नै मुख्य चुनौती रहेको बताए । 

 राउटे, लोपोन्मुख, सीमान्तृकत जाति उत्थान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले निस्वार्थ ढङ्गले राउटेका जीवनशैलीमा सुधार ल्याउन प्रयास गर्दा धेरै आरोप सहनुपरेको गुनासो गरीन् । 

बेलायत बस्दै आएका वीरेन्द्र केसी र रवीन्द्रजङ्ग लामिछानेले पठाएका ७५/७५ थान म्याट, बल्याङ्केट तथा प्रिफर्म, ५० थान पाल, चप्पल १२५ थान, साबुन, पिठोलगायत सामग्री पठाएका थिए ।  

नेपालकै अतिलोपोन्मुख यो समुदायमा  १४१ जना छन् । सङ्घीय सरकारले यो समुदायको सामाजिक सुरक्षाका लागि मासिक तीन हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।