चितवन / पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका –९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।
छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले जानकारी दिए ।
सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उनले जानकारी दिए । खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले बताए ।