काठमाडौं ( राजधानी दैनिकबाट )। दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ ।


OM Sai Pathibhara Hospital

खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । यसैगरी, पिठो, चिउरा, तोरीको तेल, सनफ्वार तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।


दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ । खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।


यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट नुन प्रतिकिलो १८ रुपैयाँमा र चिनी प्रतिकिलो ७९ रुपैयाँमा पाइनेछ । साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ ।


दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका अनुसार प्रतिकिलो १ हजार रुपैयाँ पर्ने घिउलाई ५० रुपैयाँ छुट गरी ९ सय ५० मा बिक्री गरिनेछ । डिब्बामा भएको घिउ अहिले १ हजार २० रुपैयाँमा बिक्री गरिँदै आएको छ । अब भने ५० रुपैयाँ छुट दिएर ९ सय ७० मा बिक्री गरिनेछ ।


महाप्रबन्धक पौडेलले पनिर २ सय ग्राममा ५ रुपैयाँ, ५ सय ग्राममा १० र एक किलोमा २० रुपैयाँ छुट दिएर बिक्री गरिने बताए । उनले काठमाडौंमा डीडीसीको सपुथ पसल लैनचोर, खुमल्टार र न्युरोडबाट सहुलियतमा बिक्री गर्नुका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङको पसलसँग समन्वय गरेर सँगै संस्थानको उत्पादन छुट दिएर बिक्री गर्ने बताए ।


खाद्य व्यापार कम्पनीले काठमाडौं उपत्यका थापाथाली, सूर्य विनायकलगायतका चार स्थानबाट सुपथ पसल सञ्चालन गर्नेछ । यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका कालिमाटी, कोटेश्वर, सतुंगल, जावलाखेल, भक्तपुर गरी ६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । यस्तै, तीनवटा घुम्ती सेवा सञ्चालन हुने कर्पोरेसन प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । यसैगरी, खाद्य व्यापार कम्पनीले अनलाइनमार्फत पनि सहुलियत दिएर उपभोक्ताको घरमा खाद्यवस्तु पुर्याउने जनाएको छ ।


सरकारले दसैं तिहार र छठजस्ता पर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने हुँदा बजार निजी व्यापारीको मनपरी मूल्यलाई नियन्त्रण गर्न सरकारले दसैं तिहार छठपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरसनमार्फत सुपथ पसल सञ्चालन गर्दै आएको छ ।


चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको हो । सुपथ मूल्य पसल १ असोजदेखि २४ कात्तिकसम्म सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध संस्थानमार्फत सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।


चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले खाद्यवस्तुमा अस्वाभाविक मूल्य बढाएर उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।


मन्त्रालयका अनुसार दसैं तिहार र छठपर्वमा अत्यावश्यक वस्तुमा छुट दिनका खाद्य कम्पनीलाई १ करोड ७५ लाख र कर्पोरेसनलाई १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।