झापा / राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरीवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताएका छन्। 

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । उनले पहिलो चरणको कार्यक्रम अन्तर्गत सुपरीवेक्षकले घरघरमा पुगेर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण र बैकिङ पहुँचको विवरण सङ्कलन गर्ने बताएका छन्। विवरण सङ्कलन गर्ने काम १८ दिन अर्थात् असोज १९ गतेसम्म गरिनेछ । 

OM Sai Pathibhara Hospital

भदौ २६ र २७ गते बिर्तामोड, मेचीनगर नगरपालिका, बाह्रदशी गाउँपालिका र भदौ २८ र २९ गते अर्जुनधारा, भद्रपुर, नगरपालिका, कचनकवल, हल्दीबारी, बुद्धशान्ति गाउँपालिकामा सुपरिवेक्षकलाई गणनासम्बन्धी तालिम प्रदान गरिएको थियो । दोस्रो चरणका लागि कात्तिक ९गतेदेखि ११ गतेसम्ममा कार्यालयमा गणक नियुक्त गरिने र कात्तिक १३ गतेदेखि १६ गतेसम्म तालिम दिएर गणना कार्यका लागि उनीहरूलाई कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म कार्यस्थलमा खटाइने बताएका छन् । 

जिल्लामा माइपश्चिमका सातवटा पालिका, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, कमल, गौरीगञ्ज र झापा गाउँपालिकालाई समेट्ने गरी दमकमा कार्यालय स्थापना गरिएको छ । विर्तामोड, मेचीनगर, अर्जुनधारा, भद्रपुर नगरपालिका, बुद्धशान्ति, बाह्दशी, हल्दिबारी र कचनकवल गाउँपालिकाको तथ्याङ्क सङ्कलन गर्ने गरी चन्द्रगढीमा कार्यालय स्थापना गरिएको उनले बताए।

कार्यालयले यसअघि नै प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा वडा जनगणना सहजीकरण समिति गठन गरेको थियो ।