बिर्तामोड  / नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलकाे नेता चयन गरेको हो । 

भीमप्रसाद आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र आजै प्रदेशसभा सचिवालयमा पठाउने तयारी रहेको समाजवादीका सांसद उपेन्द्र घिमिरेले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा दश जना सांसदले सनाखत गरेका थिए । उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । 

एकीकृत समाजवादीमा सनाखत गर्नेमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् । 

दश जना सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको प्रदेशसभामा बहुमत गुमेको छ । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । 

अहिले प्रदेशसभामा ९२ जना सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।