काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिएका छन् । 

भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उनले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारीसाधनमा लोडभएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजस्व सङ्कलन वृद्धि गर्न कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे । सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा उनले जोड दिए । उनले सरुवाका लागि कुनै पनि दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए । 

उनले सरुवाका लागि फोन गराई दबाब सृजना गर्ने कर्मचारीको माग सुनुवाइ नहुने स्पष्ट पारे । “त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन त्यो आफै बुझ्नुहुन्छ”, उनले भने ।