बिर्तामोड(एजेन्सी) अफगानिस्तानमा तालिबानको विरुद्धमा प्रदर्शन गर्दा चार जनाको मृत्यु भएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरी दमन गर्दा चार जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

राष्ट्रसङ्घका अधिकारीका अनुसार तालिबानका विरुद्धमा राजधानी काबुलमा भएका विरोध प्रदर्शनमा पछिल्ला प्रदर्शनमा चार जनाको मृत्यु भइसकेको छ । 

OM Sai Pathibhara Hospital

झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शन भइरहेका छन् ।

ती प्रदर्शनकारीमाथि तालिबानले बल प्रयोग गर्ने गरेका छन् । तालिबानी लडाकूले कोर्रा हानेर मानिसलाई धपाउने र गोली प्रहारसमेत गर्ने गरेका बताइएको छ । 

राष्ट्रसङ्घले नागरिकको शान्तिपूर्णरूपमा भेला हुन पाउने अधिकार प्रयोग गर्न दिन आग्रह समेत गरेको छ । नागरिकले शान्तिपूर्णरूपमा भेला भएर आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध बल प्रयोग गरेर नागरिकको हत्या गर्नु अपराध भएको राष्ट्रसङ्घले जनाएको छ ।