पर्वत / विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशिला गाउँपालिका –१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुन् । 

साविकको होश्राङ्दी गाविस –७ अर्गाउदीका उमाराज विकविष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । 

OM Sai Pathibhara Hospital

विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया विकले सबैलाई अपिल गरेकी छिन् । 

राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरू अत्यन्त पिरमा परेको उनले बताइन् । उनले भनिन्, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा छोराकै पिरले हामीलाई दिनको भोक र रातको निद हराएको छ ।” 

सोह्र वर्षअघि काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजीत मलेसियाको सेलेङ्गर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजीतका आफन्त विष्णुराम विकले बताए । चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ । 

सर्वजीतलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजीतको अवस्था पत्ता नलागेको विकले बताए । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सबैसँग आग्रह गरेको छ ।