मकवानपुर / बागमती प्रदेशमा नेकपा एमालेको सरकार अल्पमतमा परेसँगै गठबन्धनले प्रदेश सरकारको नेतृत्वका लागि पहल शुरु गरेको छ ।
एमालेबाट प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि विपक्षी गठबन्धनको सरकारले नेतृत्वका लागि पहल शुरु गरेको हो ।
गठबन्धनले नयाँ सरकार बनाउन तयारी गरेसँगै मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि दाबी गर्न थालेका छन् ।
भदौ २ गते नेकपा एमालेको एकता जोगाउन भन्दै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि एमालेबाटै शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो । तर, शाक्य मुख्यमन्त्री बनेको एक सातामै एमाले विभाजन भएको थियो ।
एमालेले ५६ सांसदका एकल बहुमतको सरकार गठन गरे पनि पार्टी विभाजन भएसँगै १३ जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।
कुल ५६ सिटबाट ४३ सांसदमा खुम्चिएको एमालेलाई सरकार टिकाउन थप १३ सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभाका साना ४ दलले साथ दिने हो भने पनि ती दलका कुल सांसद संख्या ८ मात्र पुग्छ । उनीहरूको साथबाट पनि शाक्य नेतृत्वको सरकार जोगिने अवस्था छैन ।
प्रदेशसभामा विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र एक गरी ८ सांसद छन् । एमालेलाई सरकार टिकाउन १३ सांसद आवश्यक पर्नेमा साना दलको समर्थनले मात्र पनि सरकार टिक्न नसक्ने देखिएको हो ।
बागमती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये १३ नेकपा एकीकृत समाजवादीका, २३ नेकपा माओवादी केन्द्रका, २२ नेपाली कांग्रेसका सांसद छन् । यी तीन दल मिल्दा प्रदेशसभामा गठबन्धनको पक्षमा ५८ सांसद हुन्छन्, जो प्रदेशसभाको पूर्ण बहुमत संख्या हुन्छ ।