खाँदबारी / सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा गत भदौ २१ गते बिहान  तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स तवरले भएको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अनुशन्धानमा खटिएका प्रहरीले शुक्रबार नै पक्राउ गरेका तेजबहादुरका नातमा भतिजो पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले एकै परिवारका छ जनाको हत्या गरेको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको हो ।

हत्याका विषयमा पहिलो पटक सूचना दिने र खबर गर्ने काम गरेका कार्की नै हत्यामा संलग्न रहेको प्रमाण पाइएकाले उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । हत्याका विषयमा अनुसन्धान गर्न पुगेका प्रहरीलाई सहयोग गरेका कार्की नै अभियुक्त भएको ठहर गर्दै प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका कार्कीले घटनास्थलमा पुगेका कयौं पत्रकारसँग घटनाका विषयमा कुराकानी समेत गरेका थिए ।

कुराकानीका केही श्रव्य सामाग्री यतिबेला सामाजिक सञ्जालमा भाइरल रहेका छन् । जहाँ उनले सामान्य अवस्थामा जसरी अनि आफन्त गुमाएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गर्न माग गरेको देखिन्छ ।  

हत्यमा संलग्नलाई पक्राउ गर्न प्रहरीले लगेका कुकुर लैला र पिकुको समेत नजरमा नपरेका उनलाई प्रमाण सहित पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रदेश एकका प्रहरी प्रमुख डीआईजी अरुण कुमार बीसी सहित अनुसन्धानमा सीआईबी र प्रहरीका थप दुईवटा अनुसन्धान टोली खटिएका थिए ।



अनुसन्धानका लागि प्रहरी समेत असफल भएको घटनामा प्रहरीका सहयोगी बनेर सहयोग गर्दै आएका कार्कीले हत्याको समयमा प्रयोग गरेको सर्टमा रगतका छिटा देखेपछि त्यहीबाट सुरु गरेको अनुसन्धानमा उनले हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी अधिकारीले पक्राउ परेका कार्कीले आफूमाथि गरेको अपमान र आफ्नी आमाको मृत्युको बदला लिन तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउने क्रममा अन्यको समेत हत्या गरेको स्वीकार गरेको बताएका छन् ।  

प्रहरीसँगको बयानका क्रममा उनले आफ्नो टार्गेटमा काका तेजबहादुर मात्रै रहेको भएपनि हत्या गरेको अरुले देखेपछि सो विषय लुकाउन थाहा पाउने अन्यको पनि हत्या गरेको स्वीकार गरेका छन् ।

कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको देखेपछि हत्याको योजना बनाएका थिए । हत्याका लागि उनले आफ्नो घरमा रहेको दाउराको चाङबाट चिर्पट निकालेर घर नजिकको खोल्सीमा पुगेका बेला तेजबहादुरमाथि आक्रमण गरी उनको हत्या गरेको प्रहरीले जानकारी गराएको छ ।

आक्रमणका क्रममा तेजबहादुर चिच्याएपछि उनकी श्रीमती कमला र बुहारी रञ्जना आएको अनि अपराध खुल्ने भयले उनले कमला र रञ्जनाको पनि हत्या गरेको पाइएको छ । कमला र रञ्जनालाई पनि चिर्पट नै प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी गराएको छ ।

कमला र रञ्जनालाई आक्रमण गरेको देखेकाले नै दुई बालबालिकाको पनि हत्या गरेको पक्राउ परेका कार्कीले प्रहरीलाई बयान दिएका छन्  । आफूलाई देखेको आशंकामा  कुँडो पकाइरहेकी पार्वतीमाथि आक्रमण गरेर उनको समेत हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनले प्रहरीलाई काका तेजबहादुर मार्ने योजना भएपनि देखेकाले घटना लुकाउन थाहा पाउने जति सबैको हत्याको गरिएको बताएका छन् ।
 
पक्राउ परेका कार्कीले आफ्नै काकाको परिवारका चार वंश नै सिध्याउने गरी विभत्स तवरले छ जनाको हत्या गरेका थिए । हत्यमा उनले चिरपट र रड प्रयोग गरेको प्रहरीले जानकारी गराएको छ ।

उम्लिङको खोला गाउँमा भएको विभत्स क्रुर घटनामा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनामा परिवारका ७ सदस्य मध्ये जेष्ठ सदस्य आँखा कम देख्ने र कम सुन्ने बौद्धमान बाहेका सवैको हत्या भएको थियो ।