बिर्तामोड / राजनीतिक दलका नेताहरूले आफ्ना परिवारका सदस्य र नातेदार अनि नजिकका मान्छेलाई आफू रहेको दलमा ल्याएर अघि बढाउनु दक्षिण एसियाली मुलुकका लागि नयाँ भने हैन । नेपालमा कांग्रेस भित्रको कोइराला परिवार र माओवादी भित्र दाहाल परिवारको दबदबाको आलोचना भइरहेकै समयमा अन्य नेताले समेत त्यही बाटो समाउन थालेका छन् ।
केन्द्रिय राजनीतिमा रहेका देखि स्थानीय स्तरको राजनीतिमा रहेका सम्मले आफ्नो उत्तराधिकारीको रुपमा पारिवारीका सदस्यलाई अघि बढाउन थालेका छन् । स्व. विपी कोइराला र गिरिजा प्रसाद कोइराला , गणेशमान सिंह , मदन भण्डारी र परिवर्तनको वाहक भनिएका प्रचण्ड सम्मले आफ्नो उत्तराधिकारी बनाउन पारिवारिक सदस्यलाई अघि बढाएका थिए ।
यही खराब सिको सिक्दै कांग्रेसका सभापति र प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवाले पनि आफ्नो छोरालाई यसपटक हुने पार्टीको महाधिवेशनबाट राजनीतिमा अघि बढाउने भएका छन् । पार्टीको कुनै पनि सङ्गठनमा नरहेका र पार्टी काम नै नगरेका उनका एकमात्रै छोरा जयवीरसिंह देउवालाई महाअधिवेसन प्रतिनिधि बनाएर उनले आफ्नो उत्तराधिकारी बनाउन खोजेका छन् ।
देउवाले छोरा जयवीरसिंहलाई डडेल्धुराबाट क्रियाशील सदस्यता दिलाएका छन् । कहिल्यै राजनीतिक काम अनि गतिविधिमा समेत नदेखिएका जयवीरलाई देउवाले डडेल्धुराको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्रियाशील सदस्य बनाएका छन्। देउवा पनि सोही वडाबाटै क्रियाशील सदस्य बनेर कांग्रेस राजनीतिमा उदाएका थिए ।
वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको नाम रहेको छ। वडाबाटै सिफारिस गर्न लाएर देउवाले आफ्ना छोरालाई कांग्रेस राजनीतिमा अघि बढाउन खोजेका छन् ।
महाधिवेशनका लागि जयवीरसिंह आफू सदस्य बनेको गाउँमा समेत पुगेका छैनन् । जयवीर सदस्य रहेको वडामा भदौ १८ मा अधिवेशन गर्ने भनिएपनि २५ गतेका लागि सरेको छ । जयवीरसिंहलाई क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशनमा लाने देउवा परिवारले तयारी गरेको छ ।
क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आउने अनुमान गर्न थालिएको छ । २६ वर्षीय जयवीरले यसअघि बेलायतमा बसेर अध्ययन गरेका थिए । उनले युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन्।