बिर्तामोड / प्रधानमन्त्री र गृहमन्त्रीले आफू अनि आफ्नो दललाई सहयोग गर्नेहरूको संरक्षण गर्नु अनि उनीहरूलाई कानुनी कारवाहीबाट जोगाउन कोसिस गर्नु आम नेपालीका लागि नयाँ विषय भने हैन ।
कानुन विपरीतका गतिविधि , अनियमितता , बेथिती , भ्रष्टाचार र अपराधमा संलग्नलाई संरक्षण गर्ने विगतको तितो यथार्थलाई कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ ।
अपहरण र फिरौती असुलीको अभियोगमा कैद भुक्तान गरिरहेका कांग्रेस समर्थित गुण्डा नाइके अभिषेक गिरीलाई केन्द्रीय कारागार डिल्लीबजारबाट नियम अनि पद्धति मिचेर गृहमन्त्रालयले विराटनगर स्थित कारागार सरुवा गरेको सार्वजनिक भएको छ ।
गिरीलाई सार्न मोरङ कांग्रेसका नेताहरूले लामो समय देखि प्रयास गर्दै आएका थिए । पार्टी सभापति देउवा प्रधानमन्त्री र कुनै बेला गिरी रहेको कांग्रेसको युवा संघ तरुण दलका केन्द्रिय अध्यक्ष बालकृष्ण खाँड गृहमन्त्री बनेपछि मोरङ कांग्रेसका नेताको प्रयास सफल भएको हो ।
गुण्डागर्दी पृष्ठभूमिबाटै पूर्वको राजनीतिमा उदाएका एमाले अध्यक्ष ओली समर्थित पर्शुराम बस्नेतको दबाबमा उनलाई सो समयमा काठमाण्डौ लगिएको मानिदै आएको छ । बस्नेत र गिरीबिचको सम्बन्ध खराब रहेको अनि एकले अर्कोलाई नस्विकार्ने भएकाले सरकार प्रयोग गरी आफ्नो गृहनगरबाट उनलाई काठमाण्डौ सारिएको बताउने गरिएको छ ।
गिरीको सरुवाको विषयमा पर्शुराम बस्नेतमाथि आरोप लागेपनि स्वयं गिरी पनि सरुवाको कारण रहेका थिए । मोरङ कारागारमा चौकिदार रहेको समयमा गिरीले गरेका हर्कत र गतिविधिकै कारण कारागार प्रशासन पनि उनलाई सार्न मजबुर बनेको थियो । उनको सरुवाको निर्णय विरुद्ध सो समयमा कारागार भित्रै आन्दोलन समेत भएको थियो ।
कुनै कारणले एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्ने परम्परा रहेको छैन । कारागार सञ्चालनको नियममा पनि त्यसो गर्ने सुविधा उपलब्ध रहेको छैन ।
गिरी मोरङ कारागारमा चौकीदार रहँदा कारागार भित्रैबाट फिरौती उठाएको र कैदीबन्दीलाई यातना दिएको भन्दै गृहमन्त्रालयले २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा गरेको थियो । उनलाई सरुवा गर्ने तत्कालीन सरकारको निर्णय विरुद्ध कारागार भित्रै आन्दोलन समेत भएको थियो ।
विराटनगर ११ का स्थायी बासिन्दा गिरीलाई विराटनगर सरुवा गर्ने निर्णय सँगै उनका सहयोगी अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैंबु र वन मुद्दाका मनोज कार्कीको पनि विराटनगर सरुवा भएको हो ।
छोटो समयमा अकुत सम्पत्ति कमाएको देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले समेत गिरीविरुद्ध मुद्दा चलाएको थियो । तर अन्य गुण्डा नाइकेसँगै उनले पनि सफाइ पाएका थिए ।