धरान / अल्पमतमा परेका एमाले नेता एवं प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दावी गरेका छन् । एमालेका १० सांसद नयाँ दलमा गएपछि सत्ता जोगाउन सङ्कटको सामना गरिरहेका नेता आचार्यले आफूले विश्वासको मत पाउने दावी गरेका हुन् ।

धरान–८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन गर्दै उनले शनिवार त्यस्तो दावी गरेका हुन् । विपक्षी गठबन्धन सरकार गठनका दिशामा लागेका वेला आएको आचार्यको यो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

निर्वाचनको समयमा कांग्रेस नेता एवं मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विजयी बनाउन सहयोगिको भूमिका खेलेका आचार्यको पछिल्लो दावीले कांग्रेसले आचार्यको सरकारलाई सहयोग गर्ने अनुमान गर्ने ठाउँ पैदा भएको छ ।  

उनले भने – ‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भएपनि म विश्वासको मत लिन्छु, यो सरकार सत्ता लिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकोले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो ।’

सरकार जोगाउन छलफल तिव्र पारिएको बताउँदै आचार्यले भने –  राजनीतिमा जे पनि हुन्छ , नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरुबिच छलफल भइरहेको छ ।