बिर्तामोड / पार्टी विभाजन पछि मत्थर हुने मानिएको एमाले भित्रको कहल फेरि सतहमा प्रकट हुन थालेको छ । १० बुँदे सहमति पछि माधव नेपाललाई छाडेर एमालेमै बस्न तयार भएका नेता र ओली समुहबीचको खटपट सतहमा देखिन थालेको हो ।


नेपाल पक्षका नेता र ओली समुहबिच जेष्ठ २ गतेकै संरचना र अवस्थामा पार्टी फर्किने समझदारी भएको थियो । समझदारी अनुसार नै नेता योगेश भट्टराई पार्टीको प्रचार विभाग प्रमुख र प्रवक्ता वनेका थिए ।

तर समझदारी भएको केही दिनमा नै ओली समुहका नेता प्रदिप ज्ञवालीले राष्ट्रिय विषयवस्तुमा विज्ञप्ति नै जारी गरेर पार्टी धारणा सार्वजनिक गरेपछि पार्टी भित्रको विवाद र कहल समाप्त नभएको देखिएको हो । ज्ञवालीले प्रवक्ताका रुपमा लगातार विज्ञप्ति जारी गर्न थालेपछि नेता भट्टराई समुह असन्तुष्ट बनेको छ ।

समझदारी अनुसार माओवादी केन्द्रबाट एमालेमा गएका नेतालाई जिम्मेवारी दिने भनिएपनि सो विषयमा कुराकानी गर्न ओली समुह तयार नभएपछि असन्तुष्टि थप बढेको छ । विगतमा कर्णाली प्रदेशसभाबाट सुरु भएको गुटको लडाइ अन्तत पार्टी विभाजन सम्म पुगेको थियो ।

प्रदेश एक र बाग्मतीमा पनि एमाले नेतृत्वको सरकार बचाउन भन्दै मुख्यमन्त्री बन्ने सर्तमा नेपाल समुह छाडेर एमालेमा नै बस्न तयार भएका नेता भीम आचार्य र अष्टलक्ष्मी शाक्य असफल भएको भन्दै आलोचना सुरु भएको छ ।

सरकार जोगाउने सर्तमा मुख्यमन्त्री बनाइएको तर जोगाउन नसकेकाले उनीहरु असफल भएको ओली समुहका नेताले आरोप लगाउन थालेपछि यो विषयमा समेत आन्तरिक कलह सुरु भएको नेताहरूले जानकारी गराएका छन् ।  

माधव नेपाल समुहलाई छाडेर एमालेमा नै बस्न तयार समुह र ओली समुहबीचको झगडा यतिबेला सुनसरीमा समेत उत्कर्षमा पुगेको छ । दुवै समुहका जिल्ला समितिले अधिकारिकता दावी गरेपछि सुनसरीमा विभाजनको रेखा कोरिएको छ ।

ओली समर्थित जिल्ला समितिले अर्को धारको नेतृत्वमा रहेको जिल्ला समितिलाई नमान्ने निर्णय गरेपछि विभाजनको रेखा कोरिएको हो । जेष्ठ २ मा फर्किने निर्णय नमान्ने ओली समर्थित जिल्ला समितिले बैठक नै राखेर औपचारिक रुपमा निर्णय गरेको छ ।
पार्टी भित्र अवसर र पदका लागि गुट बदल्न सिपालु नेता भनेर चिनिएका रेवतीरमण भण्डारी र उनी समर्थित नेता यतिबेला ओली समुहमा रहेका छन् । तिनै भण्डारीको नेतृत्वमा ओली समुहले विगतमा जिल्ला समिति बनाएको थियो । नेता भण्डारीको अध्यक्षतामा बसेको बैठकले नै जेष्ठ २ मा फर्किने निर्णय नमान्ने घोषणा गरेपछि विभाजनको संकेत सुनसरीबाट देखिन सुरु भएको छ ।

मुख्यमन्त्री बनेर माधव नेपालको साथ छाडेका भीम आचार्यलगायतका नेताले पार्टीभित्र आफ्नो स्वार्थ अनुसारको निर्णय लाद्न खोजेको भण्डारी समुहले आरोप समेत लगाएका छन् ।

विगतमा नेपाल समुहका नेता रहेका रमेश बस्नेत अध्यक्ष रहेको जिल्ला समितिलाई मान्यता दिए दुर्घटना निम्तिने भण्डारी समुहले चेतावनी समेत दिएको छ । भण्डारी समुहले विगतमा एमालेको साख बचाउन भुमिका खेलेको समिति नै आधिकारीक र नेतृत्वको हकदार भएको दावी समेत गरेको छ ।  

पार्टीको निर्णय बमोजिम १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलले एमाले सुनसरीमा पूर्व अध्यक्ष रमेश बस्नेत नेतृत्वको समिति नै आधिकारीक भएको भन्दै त्यसलाई पूनस्र्थापित गर्ने निर्णय गरेको थियो । सो निर्णय भए लगत्तै ओली पक्षिय नेता भण्डारी अध्यक्ष रहेको समितिले दुर्घटना निम्तिने चेतावनी दिएको हो ।
uml