बिर्तामोड  / केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा मिलेमतोमा भएका भ्रष्टाचारका घटना श्रृङ्खलावद्ध रुपमा सार्वजनिक भइरहेको समयमा अर्को नयाँ काण्ड सार्वजनिक भएको छ ।

ओलीका आर्थिक सल्लाहकार रहेका विराटनगरका उद्योगी मोती दुगडसँगको मिलेमतोमा सरकारी सहयोगमा नै तेस्रो मुलुक निकासीका लागि सामान आयात गर्न दिएको विषय सार्वजनिक भएको हो । ओली सरकारले मुलुकको माग भन्दा बेसी परिमाणमा पोस्ता दाना आयातका लागि राठी ट्रेडिङ, कुबेर एड्जिन र इन्भेष्टमेन्ट प्रा.लि लगायतलाई अनुमति दिएको थियो ।

OM Sai Pathibhara Hospital

भारत निकासीका लागि मुलुकमा नै माग नरहेको अवस्थामा गत आर्थिक वर्षमा सुपारी , मटर , मरीच , छोकडा र सुकुमेल लगायतका बस्तु आयात गर्न सफल बनेका उद्योगीलाई नै ओली सरकारले पोस्ता दाना निकासीको अनुमति दिएको थियो ।

ओली समुहसँगको मिलेमतोमा यसअघि सुपारी र मटर लगायतका बस्तु आयात गर्न पाएका विराटनगरका उद्योगी प्रदीप मुरारकाले पाम तेल निकासीका नाममा पोस्ता दाना भारत पठाउने गरेको सार्वजनिक भएको छ ।

भारतले विगतमा प्रतिवन्ध लगाएको पाम तेलको निकासी खुला भएपछि सरकारी सेटिङमा अवैध धन्दा अनि काम गर्न पल्केका उद्योगी मुरारकाले पोस्ता दाना निकासी गरिरहेको खुलेको हो । मुरारकाको मोरङको कटहरीमा सञ्चालित श्रीराम रिफाइनरी उद्योगबाट पाम तेलका नाममा तेलको टिनमा पोस्ता दाना हालेर भारत पठाउने गरेको खुलेपछि वर्षौ देखि सरकरी निकायसँगको मिलेमतोमा हुने गरेको नयाँ आर्थिक अपराधको घटना सावजनिक भएको हो ।

मुरारकाको उद्योगबाट पाम तेलका नाममा विराटनगर भन्सार हुँदै भारत पुगेको पोस्ता दाना भारतको रेभेन्यू डिपार्टमेन्ट (डीआरआईको)  टोलीले  फारवीसगञ्जबाट बरामद गरेपछि यो नयाँ घटना सार्वजनिक भएको हो । फार्मिसगञ्ज स्थित गोदाममा अनलोड गरिएको सामान डीआरआईको टोलीले बरामद गरेपछि फेरि तेल निकासी माथि भारतले प्रतिवन्ध लगाउने खतरा समेत वढेको छ ।

भारत सरकारको अनुशन्धानले पुष्टि गरे पोस्ता दाना निकासी गर्ने उद्योग तेल उद्योग भएका कारण तेल निकासीमा भारतले अंकुश लगाउने खतरा रहेको छ । पोस्ता दाना पठाउने गरेको मुरारकाको उद्योगले खाने तेल , पाम तेल र सोयाबिन तेल प्रसोधन गरि भारत निकासी गर्ने गरेको छ ।

मुरारकाले पाम तेलको टिनमा पोस्ता दाना हालेर फारमिसगंज स्थित गोदाममा लाने र त्यहाँबाट अन्य ठाउँमा लगेर बिक्री गर्ने गरेको भारतीय अनुसन्धान अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन र प्रसारण गरेका छन् ।

स्थलमार्ग हुँदै पोस्ता दाना आयात गर्न भारतले नेपाललाई अनुमति नदिएकाले उद्योगी मुरारकाले टर्कीबाट हवाईमार्ग हुँदै काठमाण्डौ सम्म ५ हजार किलोग्राम पोस्ता दाना आयात गरेका थिए । 

विराटनगर भन्सार कार्यालयमा सामान र बस्तु परीक्षणका लागि स्क्यानर मेसिन नरहेकाले त्यसको फाइदा उठाउँदै मुरारकाले भारत पुर्याएको पोस्ता दाना भारतीय अधिकारीले बरामद गरेपछि भन्सार अधिकारी समेत समस्यामा पर्ने भएका छन् । 

मुरारकाको उद्योगबाट पोस्ता दाना जाने गरेको खुलेपछि भारतले जोगबनी नाकामा सामान तथा बस्तुको परिक्षणलाई कडा बनाएको छ ।