बिर्तामोड / पार्टी विभाजन पछि नेकपा एमाले भित्रको आन्तरिक झगडा र कलह सकिने अनुमान गरिएको भएपनि पार्टी प्रवक्ताको विषयलाई लिएर फेरि झगडा सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली गुटका नेता प्रदिप ज्ञवालीले पार्टी प्रवक्ताका रुपमा विज्ञप्ति जारी गरेपछि फेरि आन्तरिक झगडा सतहमा आएको हो ।

विगतमा माधव कुमार नेपाल समुहमा रहेका नेता योगेश भट्टराई पार्टी प्रचार विभाग प्रमुख बनाईएपनि ओली समुहका नेता ज्ञवालीले विभिन्न विषयमा पार्टी प्रवक्ताको हैसियतमा विज्ञप्ति जारी गर्न थालेपछि आन्तरिक कहल सुरु भएको हो ।

माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमा नै बस्ने निर्णय गरेका नेता र ओली समुहबिच पार्टीलाई २०७५ जेठ २ मा फर्काउने गरी १० बुँदे सहमति भएको थियो । सहमति अनुसार नेता भट्टराई एमालेको प्रचार विभाग प्रमुख र प्रवक्ता बनेका थिए ।

तर समझदारी भएको केहि दिनमा नै ज्ञवालीले विज्ञप्ति जारी गर्न थालेपछि विवाद सुरु भएको हो । ज्ञवालीले दार्चुला घटना सहितका अन्य विषयमा पार्टी प्रवक्ताको हैसियतमा विज्ञप्ति नै जारी गर्न थालेपछि आन्तरिक कलह चर्केको हो ।

पार्टी भित्र चर्केको पछिल्लो विवादका विषयमा नेता ज्ञवालीले आफु प्रवक्ता नै भएको जिकीर गरेका छन् । उनले जेठ २ भन्दा अगाडि भट्टराई प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहेकाले अहिले पनि सोहि जिम्मेवारीमा रहने दावी गरेका छन् ।

उनले पार्टी एकता बचाउन भएको १० बुँदे समझदारी कार्यान्वयनको चरणमा रहेकाले केहि समय पछि भट्टराईले नै प्रवक्ताको भुमिका समेत निभाउने जनाएका छन् ।