काठमाडौं (राजधानी दैनिकबाट )। आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो ।

उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा सरकारी सेवामासमेत अयोग्य ठहरिने गरी फैसला गरेको हो । नेपाली सेनाका सहायक रथीसमेत रहेका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सैनिक अदालतले ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

महेन्द्र दल गणमा नै कार्यरत आफ्नै साथी हुद्दा भरत गुरुङको हत्या गरेको भन्दै प्रहरीले उनलाई ७ साउनमा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । गुरुङको शव चितवनको भरतपुर महानगरपालिका–१७ सिमलडाँडा खेतको नहरमा भेटिएको थियो ।

प्रहरी अनुसन्धानले कालीबहादुर गणबाट चोरिएको सट मेसिन गन ‘एसएमजी’ प्रयोग गरेर गुरुङको हत्या गरिएको भनेको छ । सो हतियार चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङबारे भने फैसला आउन बाँकी छ ।