धनुषा /  प्रदेश २ मा एमालेका १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोज्दै निर्वाचन कार्यालय गरेर सनाखत गराएका छन् ।

नेकपा एमालेबाट १३ जना एकीकृत समाजवादीमा जाने बताइए पनि १० जनाले मात्रै सनाखत गरेका हुन् । समाजवादीमा जाने भनिएका सांसद दिल्ली उप्रेती यति वेला उपचारका लागि भारतको दिल्लीमा रहेका छन् । उनले दूतावासबाट नै सनाखत गराउने तयारी गरेको सांसद बेची लुंगेलीले जानकारी गराएकी छन् ।

त्यसैगरी एमालेकै प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण सनाखत गराउन जनकपुर आउन नसकेको एकीकृत समाजवादीका नेता एवं सांसद शत्रुधन महतोले बताएका छन् ।

बिहीबार निर्वाचन कार्यालय गएर एमाले सांसद गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, खुसीमा खातुन र नागेन्द्र यादवले नयाँ दल रोज्दै सनाखत गरेका छन् ।