काठमाडौं ( राजधानी दैनिकबाट )। नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गुरुङले पार्टी सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

सो क्रममा उनले पार्टीमा युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाए ।

OM Sai Pathibhara Hospital

‘अहिले कांग्रेसमा महिला, आदिवासी–जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन् । यस्तो अवस्थामा नयाँले कहिले अवसर पाउने ?,’ उम्मेदवारी घोषणाका क्रममा आफ्ना योजनाबारे जानकारी दिँदै गुरुङले भने ।

उनी नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन् । आफू पार्टी नेतृत्वमा आए पार्टीभित्र सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने योजना रहेकोसमेत उनले बताए । यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सहज रूपमा पहुँचयोग्य बनाउने दृढतासमेत उनले सुनाए ।

पार्टीको क्रियाशील सदस्यतामा युवा वर्गको उल्लेख्य सहभागिता देखिएको र युवापुस्ता अहिलेका नेताबाट सन्तुष्ट हुन नसकेको भन्दै गुरुङले सो समूहले आफूलाई सहयोग गर्ने बताए ।

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदै छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।