काठमाडौं//पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार वापत दिएको खर्चको सर्वोच्च अदालतले सरकारसँग आधार र कारणसहित लिखित जवाफ मागेको छ।
विदेशमा उपचार गराएका खनाललाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार सरकारसँग खर्चबारे जवाफ मागेको हो ।
मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि तत्कालिन केपी शर्मा ओली सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो ।
भदौ १३ गते विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
पोखरेलले रिटमा खनाललाई उपचार खर्च उपलब्ध गराउने निर्णय बदर गर्न र उपलब्ध गराइएको रकम झलनाथ खनालमार्फत् राज्यकोषमा फिर्ता गर्न आदेश मागेका थिए।