बिर्तामोड / प्रदेश १ का नेकपा एमालेका दश जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । एमालेका सांसदले नयाँ दल रोज्दै निर्वाचन आयोग पुगेर सनाखत गरेपछि आचार्य अल्पमतमा परेका हुन् ।
यो समाचार तयार पार्दा सम्म एमालेका सात सांसदले निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका छन् भने थप तीन सांसद सनाखदको प्रकृयामा छन् ।
सनाखत गर्ने सांसदहरूमा खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।
भोजपुरका राजेन्द्र राई, मोरङका उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले पनि आजै सनाखत गर्ने भएका छन् । सांसद राजेन्द्र राई निर्वाचन आयोगमा र सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राई सांसद सचिवालयमा परिचयपत्र लिन गएका छन् ।