काठमाडौँ / सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई बुधबार पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सो मुद्धा पेशीमा चढेको थियो ।
निर्वाचनको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको थियो ।
लामाकी पत्नी पूर्णिमाया लामा , अधिवक्ता सुशील प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले २०६८ असार ६ गते मुद्दा दायर गरेका थिए । लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमायाले २०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ । हालसम्म यो मुद्दा २० पटकसम्म सुनुवाइको पेशी तोकिएको छ ।