काठमाडौँ / राजनीतिक दलका उच्च तहका नेता नै पालैपालो यौनहिंसाका घटनामा मुछिन थालेका छन् । नेकपा एकीकृतका नेता एवं प्रदेश मन्त्री कुर्मराज शाही यौनहिंसाको घटनामा संलग्न रहेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।
यसअघि माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा र एमालेका प्रभावशाली नेता एवं पुर्व मुख्यमन्त्री शेरधन राईमाथि यौन हिंसाको आरोप लागेको थियो । महराले अदालतबाट सफाइ पाइसकेका छन् भने राईका विषयमा आरोप लगाउने एमाले नेतृ वालिका खड्काले भने कानुनी कारवाहीका लागि अझैसम्म सरकारी निकाय गुहारेकी छैनन् ।
सार्वजनिक भएको भिडियोमा मन्त्री शाहीले एकजना महिलाको कोठामा नै पुगेर यौनहिंसा गरेको देखिन्छ । सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा सार्वजनिक भएको भएको ६ मिनेट ५८ सेकेन्ड लामो भिडियोमा महिलाले शारिरीक सम्पर्क राख्न अस्वीकार गरेको देखिन्छ । महिलाले अस्वीकार गर्दा समेत जबरजस्ती शारिरीक सम्बन्ध राखिएको भिडियोमा देख्न सकिन्छ ।
महिलाको कोठामा पुगेका मन्त्रीले जबरजस्ती करणी गरेको देखिने भिडियो सार्वजनिक भएपछि अधिकारवादी संस्था, महिलाका आफन्त र पार्टी भित्रैबाट उनीमाथि कारवाहीको माग हुन थालेको छ । शाहीमाथि कारवाहीको माग गरिरहेका महिलाका आफन्त पनि भिडियो सार्वजनिक भएपछि कानुनी कारवाहीमा जानबाट डराएका छन् ।
सामाजिक सञ्जातबाट सार्वजनिक भएको प्रदेश मन्त्रीको यौन हिंसाको घटनाका विषयमा प्रदेश सरकार र प्रहरीले भने मौनता साँधेका छन् । शाहीमाथि कारवाहीको माग हुन थालेको भएपनि नेकपा एकीकृत समाजवादी र मुख्यमन्त्री शाहीले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
यौन हिंसाको घटना सार्वजनिक भएपछि राजनीतिक दल सम्वद्ध कार्यकर्ता र नागरिक समाजका अगुवाले कानुनी कारवाहीको माग गरेका छन् । एमालेको युवा संघ र अनेरास्ववियुले विज्ञप्ति नै निकालेर उनीमाथि कारवाही गर्न माग गरेका छन् ।