कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । मंगलबार राति टुकीबाट सल्किएको आगोले  रामप्रसाद रानाका घरमा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । 

अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिएका छन्। “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”

OM Sai Pathibhara Hospital

नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीरमा लगाएको एकसरो लुगा मात्रै बचेको छ भने उनीहरू अहिले आफन्तको शरणमा बसेका छन् । आगलागी पीडित रामप्रसादले सबैसँग सहयोग गर्न आग्रह गरेका छन्।