बिर्तामोड / नेकपा एमाले विभाजन पछि पार्टीकै तल्लो तह सम्म त्यसको असर देखिन थालेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ता एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पार्टी विभाजनको असर सतहमा नै देखिन थालेको छ । विभाजनपछि स्थानीय नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
एमालेबाट निर्वाचित बिर्तामोड नगर पालिका बडा नं २ का वडाअध्यक्ष नगेन्द्र संगौलाले एमालेका केन्द्रीय सदस्य रबिन कोइरालामाथि पार्टीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।
विगतमा माधव नेपाल समुहमा रहेका कोइरालामाथि उनले ०७० सालमा झापा एमालेको खातामा जम्मा भएको १२ लाख रुपैयाँ हिनामिना गरेको आरोप सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लगाएका हुन् ।
उनले लेखेका छन् – २०७० सालमा झापा नेकपा एमालेको लेबी शुल्क चार लाख सत्तरी हजार गरेर १२ लाख घिच्ने रबिन कोइराला पनि केन्द्रीय सदस्य रे । एमालेहरू यस्ता भ्रष्टाचारी तस्करदेखि सावधान हुनु होला । खाएको रकम मुद्दा हालेर पनि एमालेले लिनै पर्छ । गद्दारदेखि सावधान हुनु होला ।
सङ्ग्रौलाले लेखेको अर्को स्टाटस भने यस्तो छ – पार्टीका कार्यकर्ताले पाइपाई दुःख गरेर तिरेको लेबी शुल्क खाने नामुद तस्करको नाइकेको पछाडि पनि एमाले कार्यकर्ताहरू कुद्लान् र ।
सङ्ग्रौलाले कोइरालामाथि लगाएको आरोपले एमाले वृत्तमा हङ्गामा मच्चिएको छ । माधव नेपाल समूहमा लामो समयदेखि रहेका अनि ओली गुटको विरोधीका रुपमा चिनिएका कोइराला यतिबेला ओलीकै नेतृत्वमा रहेको एमालेमा रहेका छन् ।
कोइराला ओलीको पक्षमा लागेपछि उनी पक्षीय कार्यकर्तामा अन्योलका बढेको छ । लामो समयदेखि ओली विरोधी खेमामा रहेका कोइराला, नरेश खरेल र क्षेत्र नं २ की सांसद पवित्रा निरौला खरेल यति वेला माधव समुहलाई छाडेर ओली नेतृत्वकै एमालेको पक्षमा खुलेका छन् ।
एमालेमै खुलेपछि हिजोका दिनमा उनीहरूको विरुद्ध लागेका कार्यकर्तामा थप अन्योलता छाएको झापा जिल्ला कमिटीका एक सदस्यले बताएका छन् । उनको प्रश्न छ, हिजोसम्म हाम्रा विरुद्ध लागेर हिड्नेहरूलाई आज नेता मान्नु पर्ने भो । यो कसरी सम्भव हुन्छ ?