काठमाडौँ  / चालु आर्थिक वर्षको पहिलो महिनामै अलैँचीको निर्यात घटेको छ । विगतका वर्षहरूमा नेपालबाट निकासा हुने वस्तुमा दोस्रो, तेस्रो स्थानमा रहेको अलैँचीको निर्यात यो वर्ष भने ह्वात्तै घटेको हो । 

गत वर्षको तुलनामा यो वर्ष २५.१३ प्रतिशतले निर्यातमा कमी आएको पाइएको छ । कोरोनाका कारण असहज स्थिति हुँदा पनि गत वर्ष एक महिनाको अवधिमा नेपालबाट ४७ करोड ६२ लाख ६४ हजार रुपैयाँको ५ लाख ९५ हजार केजी अलैंची निर्यात गरेको थियो । सोही अवधिमा यो वर्षमा भने ३५ करोड ६५ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ५३ हजार केजी अलैंची निर्यात भएको छ । 

OM Sai Pathibhara Hospital

आगामी असोज महिनादेखि किसानले धमाधम अलैँची संकलन गर्न शुरू गर्दछन् । उत्पादित अलैंची असोजबाट संकलन तथा प्रशोधन गरी किसानले व्यवसायमार्फत बिक्री गरी निर्यात गर्ने गर्दछ । निर्यातित अधिकांश अलैंची भारततर्फ निकासी हुने गर्दछ । भारतमा उत्पादन अलैँचीले नेपाली बजारमा प्रभाव पर्ने गर्दछ । 

भारतमा उत्पादन कम भए माग बढ्ने र भारतमा उत्पादन बढ्यो भने माग कम हुने भएकाले नेपालमा किसानलाई प्रत्यक्ष असर पर्ने गर्दछ । भारतमा अलैंची उत्पादन कम हुँदा माग बढ्दो भएकाले गत वर्षमा हालसम्मकै उच्च अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७७/७८ मा हालसम्मकै अलैंची निर्यात भई निर्यातित वस्तुमध्ये तेस्रो स्थानमा थिए ।
नेपालले एक वर्षको अवधिमा ७ अर्ब १ करोड ८ लाख रुपैयाँ बराबरको ८८ लाख ४२ हजार केजी अलैंची निर्यात गरेको थियो ।