वाग्मती / शिवम् सिमेन्टले दुई अर्ब ३४ करोड रुपैयाँ विद्युत् महसुल नतिरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडाले जनाएको छ । 

हेटौँडा उपमहानगरपालिका –१६ मा रहेको शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको प्राधिकरणले जनाएको हो ।  

OM Sai Pathibhara Hospital

प्राधिकरणले महसुल बापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाए पनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशि भुषण साहले जानकारी दिए । 

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न सकेको छैन । सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराए पनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ । 

सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।