भोजपुर / भोजपुरमा श्रीमतीको हत्या गरेर एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको षडानन्द नगरपालिका –९ तालखर्कका ४० वर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् । 

राईले शनिबार बिहान साढे १ बजे श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियारले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।

OM Sai Pathibhara Hospital

त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरूकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । 

स्थानीयवासी घटनास्थलमा पुग्दा इन्द्रकला राईको मृत्यु भई सकेको र बुद्धिमानको खोजी गर्दा झुन्डिएको अवस्थामा शव फेला परेका थिए । 

घटनाको बारेमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारी भंज्याङबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।