बिर्तामोड / पार्टी विभाजनका कारण समस्यामा परेको एमालेले आफ्नो दलको नेतृत्वमा रहेको प्रदेश सरकार जोगाउन प्रदेश एकमा माधव नेपाल पक्षीय नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाएको छ ।
मुख्यमन्त्री शेरधन राईले राजिनामा दिएपछि आचार्य मुख्यमन्त्री बन्न सफल भएका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले बिहीबार नै सपथ ग्रहण गरेका छन् ।
प्रदेश सभा सदस्यमा निर्वाचित भएकै समय देखि मुख्यमन्त्रीका लागि नेता आचार्यले कोसिस गर्दै आएका थिए । माधव पक्षीय नेता भएकै कारण उनी संसदीय दलको नेता हुन समेत सकेका थिएनन् ।
प्रदेशका सांसद नयाँ पार्टीमा जाँदा सरकार ढल्ने त्रासले एमालेले प्रदेश सरकारमा फेरबदल गरेको हो । नवनियुक्त मुख्यमन्त्री आचार्य नेपाल पक्षका नेता भनेर चिनिएका थिए । तर केही दिन अघि मुख्यमन्त्री बनाए एमालेमै रहने बताएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई मुख्यमन्त्री बनाउने बचन दिएका थिए ।
आज बिहान विराटनगरको होटल एसियाटिकमा बसेको एमाले संसदीय दलको बैठकले नेता आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो । बैठक सकिए लगत्तै मुख्यमन्त्री शेरधन राईले पदबाट राजिनामा दिएका थिए ।
एमाले संसदीय दलको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेश सरकार विघटन गरी आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आचार्यले ३० दिनभित्र विश्वासको मत भने लिनु पर्नेछ ।
५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित रहेकाले नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको पद सङ्कटमा पर्ने अनुमान गरिएको छ ।
आचार्य मुख्यमन्त्री बने लगत्तै माधव नेपाल समुहका भनेर चिनिएका ८ जना प्रदेश सांसदले आफ्नो कित्ता परिवर्तन गरेका छन् ।
बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकमा नेपाल पक्षका भीम आचार्यसहित ८ जना प्रदेश सांसद उपस्थित भएका थिए । प्रदेश सांसद जीवन घिमिरे, लछुमन तिवारी, लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, होमकुमार साँवा र सावित्री जोशी बैठकमा सहभागि बनेका थिए ।
आफ्नो कित्ता नै परिवर्तन गरी ओली समुहमा लागेका आचार्यले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकार बचाउन माधव पक्षमा रहेका सांसदलाई प्रलोभनमा पार्न कोसिस गरिरहेको समेत सार्वजनिक भएको छ ।
उनले आफूले पाएको मुख्यमन्त्रीको पद जोगाउन विगतमा आफूसँगै रहेका सांसदलाई पद र आर्थिक प्रलोभनमा पार्न कोसिस गरिरहेको आरोप समेत लाग्न थालेको छ ।