काठमाडौँ / निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ ।
आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरूले सनाखत गरेका हुन् । नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।
यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात करिब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ । उक्त पार्टीका दुई सांसद भने हाल निलम्बित छन् ।
प्रस्तावित पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ । पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी नामावली बुझाइएको छ । पार्टीको चुनाव चिन्ह भने साइकल प्रस्ताव गरिएको छ ।
सरकारले हालै ल्याएको अध्यादेशमा दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य भए हुने प्रावधान रहेको छ ।