बिर्तामोड(एजेन्सी) अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नु पर्ने बताएका छन् ।

बाइडेनले सोही बमोजिम अमेरिकाले काम गरिरहेको जानकारी दिएका छन् । आगामी अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट नेटो राष्ट्रका नागरिकको उद्धारकार्य सम्पन्न भइसक्नेमा आफू विश्वस्त रहेको उनले बताएका छन् । 

OM Sai Pathibhara Hospital

बाइडेनले आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको र आवश्यक कागजपत्र भएका सबै मानिस अफगानिस्तानबाट बाहिरिन पाउने समेत बताएका छन् । 

यस प्रयोजनका लागि उनले तालिबानको सहयोगको अपेक्षा गरिएको बताए। अमेरिकाले आगामी हप्ता उद्धार मिसन सम्पन्न गर्ने तयारी गरेको तर यसमा तालिबानको सहयोग कस्तो रहन्छ त्यसमा पनि भर पर्ने उनले बताए । 

उनले यस कार्यमा यदि कुनै प्रकारको समस्या उत्पन्न भएमा के कस्तो तयारी गर्ने भन्ने बारेमा आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको जानकारी दिए । अहिलेसम्म आफूले लिएको उद्धार मिसनमा कुनै असर नपारेको उनले बताए । 

उता तालिबान लडाकुले भने उद्धारकार्य समय सीमा थप्न नसकिने बताउँदै आएका छन् । तर पनि त्यहाँबाट विदेशी मानिसलाई बाहिर निस्कन तालिबानले सहयोग गरिरहेको बताइएको छ । 

जसका कारण काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको भने रहेको बताइएको छ । 

अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । 

गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि यहाँको विमानस्थलमा भीड लागेको संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले बताउँदै आएका छन् ।