काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । 

काठमाडौँमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४ औँ महाधिवेशनका छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो गरेका थिए । 

OM Sai Pathibhara Hospital

देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उनले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग समेत गरेका छन् ।

आफ्ना समस्या समाधानका लागि पार्टीलाई दबाब दिनुपर्नेमा जोड दिँदै भण्डारीले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीका विभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्न देशभरका तरणलाई सुझाव दिए । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले तरुणको विचार पार्टीको कार्यदिशा गर्नुपर्ने बताए । प्रतिगामीसित लड्न सक्ने क्षमता तरुणसित मात्र भएको उल्लेख गर्दै उनले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

तरुण युवा पार्टीको मात्रै नभई मुलुकको सम्पत्ति भएको तर उनीहरूलाई अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी दिन नसकेकामा नेता सङ्ग्रौलाले आपत्ति व्यक्त गरे । कांग्रेसको वैचारिक शक्ति तरुण युवा भएकाले उनीहरूलाई क्रियाशील बनाउन आवश्यक रहेको उनको भनाइ थियो । 

विभिन्न चुनौतीका बीच तरुणलाई अघि बढ्न सल्लाह दिँदै उनले उनीहरूका सामु थुप्रै अवसरसमेत रहेको बताए । पार्टीको १४औँ महाधिवेशनको सफलता तरुणसित जोडिएको सुनाउँदै डा. सङ्ग्रौलाले अहिलेको अवस्थामा द्विधामा नबस्न देशभरका तरुण युवालाई सुझाव दिए ।

कार्यक्रममा तरुण विभागका सचिव श्याम श्रेष्ठ, विभागका विभिन्न तहमा कार्यरत पासाङ नोर्बु शेर्पा, सुनिलबाबु खाती, सरस्वती शाह, राजेशकुमार शाही, नन्दबहादुर विष्ट, हरिहर काफ्ले, रामशरण घिमिरेलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो ।