बिर्तामोड / नेपाली कांग्रेसले क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाउँने भएको छ ।
कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको हो ।
क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरूले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।
कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएको थियो ।
सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको भए पनि क्रियाशील सदस्यताको विवाद समयमै समाधान हुन नसक्दा आज मात्रै सभापतिलाई बुझाउन लागिएको हो ।
कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।