काठमाडौँ / कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बने लगत्तै कांग्रेस नेताहरूले सत्ताको दुरुपयोग गर्न थालेका छन् । सरकारको आडमा विवादित छविका नेताहरूले आफ्नो हित अनुकुलका काम अनि हर्कत गर्न थालेका हुन् ।
सरकारी जग्गा हडपेको विषयमा विवादमा मुछिएका कांग्रेस नेता सुरेन्द्र भण्डारीले अनुमति नै नपाएको बैंकको उद्घाटन गरेका छन् । अनुमति नै नपाएको बैंकको उद्घाटन गरिएका तस्विर सामाजिक संजालबाट सार्वजनिक भएपछि जनस्तरबाट सत्तामा पुगेपछिको दादागिरी भन्दै आलोचना सुरु भएको छ ।
केही दिन अघि काठमाण्डौको बानेश्वरमा संचालन अनुमति नै नपाएको सहकारी बैंकको मुख्य कार्यालय कांग्रेस नेता आनन्द प्रसाद ढुंगाना र सुरेन्द्र भण्डारीले उद्घाटन गरेको तश्विर सार्वजनिक भएपछि जनस्तरबाट आलोचना सुरु भएको हो ।
सामाजिक संजालमा सार्वजनिक भएका तस्वीरमा नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव समेत रहेका अनुमति नै पाइनसकेको बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेको पाइएको छ ।
विगत केही वर्षदेखि सहकारी बैक संचालनका लागि कोसिस गर्दै आएका विवादीत छविका नेता भण्डारीले देउवा प्रधानमन्त्री बने लगत्तै मुख्य कार्यालय उद्घाटन गरेर बैंक केही समयमा नै संचालनमा आउने घोषणा समेत गरेका छन् ।
सरोकारवाला निकायबाट अनुमति नै नपाएको अवस्थामा बैंक उद्घाटन गरेर कांग्रेस नेता भण्डारीले दादागिरी देखाएको भन्दै आलोचना हुन थालेको छ ।
सरकारी जमिन हडपेको विषयमा विवादमा तानिएको ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका भण्डारी संचालक समेत हुन् ।
भण्डारीको सहकारी माथि चर्चित गायक रामकृष्ण ढकाल र नागरिक अगुवा केशव पुरी लगायतलाई ठगेको आरोप समेत यसअघि लागेको थियो । सहकारीमा सर्वसाधारणले धितोमा राखेको जग्गा जमिन किर्ते कागजात तयार पारेर हत्याउने गरेको आरोप समेत भण्डारी माथि लाग्दै आएको छ ।
उनका विषयमा राष्ट्र बैंक , सहकारी विभाग , नेपाल प्रहरी र अन्य सरोकारवाला निकायमा दर्जनौं उजुरी परेपनि प्रधानमन्त्री देउवा लगायतको संरक्षणमा कानुनी कारवाहीबाट जोगिदै आएका छन् ।