बिर्तामोड / नेकपा एमालेले निर्वाचन आयोग पठाएको २६० केन्द्रीय सदस्यको विवरणलाई आयोगले तत्काल मान्यता नदिने भएको छ ।

आयोगले कानुन अनुसार नेकपा एमाले दर्ता हुँदाको बखतमा रहेको केन्द्रीय सदस्य सङ्ख्याबाट नै माधव नेपाललाई सनाखत गराउने भएको छ । 

OM Sai Pathibhara Hospital

कानुन अनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी रहेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्यको संख्या अद्यावधिक गरेर आयोगमा पठाएको थियो । 

गत भदौ १ गते मंगलबार मात्र ओलीले एमालेको आधिकारी माइन्युट गरेर २०३ सदस्य केन्द्रीय समितिलाई अद्यावधिक गरेर २६० संख्या निर्वाचन आयोगमा पठाएको थियो ।

तर, आयोगले नेता नेपालले आयोगमा दल दर्ताको लागि निवेदन दिएको अवस्थामा एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो । 

आयोगले नेपाललाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताको लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । नेपालले फरक पार्टी बनाउन अब २६० नभई २०३ बाटै २० प्रतिशत पुऱ्याउँदा हुने भएको छ ।

नेपालले २०३ सदस्यीय सङ्ख्यामा २० प्रतिशत पुर्‍याएको अवस्थामा नयाँ दलको मान्यता पाउने छ ।