बिर्तामोड / दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक निजी कम्पनी एनसेललाई ग्राहकबाट ठगी गरेर लिएको एक अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ । 

प्रयोगकर्ताको अनुमति बिना नै सेवा दिएर एक अर्ब ११ करोड ठगी गरेको भन्दै प्राधिकरणले एनसेललाई सो रकम फिर्ता गर्न निर्देशन दिएको हो । 

OM Sai Pathibhara Hospital

प्रधिकरणका अनुसार एनसेलले  ‘गेमलफ्ट र ‘हुवावे एप ग्यालरी’ नामको भ्यास सेवाबाट  ‘थ्री डे रिन्युअल र विक्ली रिन्युअल’ का प्याकहरुमा २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुनेगरि कर बाहेक ११ करोड ३७ लाख ४८ हजार नौ सय ८६ रुपैयाँ ठगी गरेको थियो ।

त्यस्तै हुवाय एप ग्यालरी नामको भ्यासबाट दैनिक नवीकरण, तीन दिनको नवीकरण, मासिक नवीकरण र साप्ताहिक नवीकरणको नाममा २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुनेगरि ९९ करोड ९२ लाख १८ हजार आठ सय त्रिसठ्ठी रुपैयाँ ठगी गरेको थियो । 

प्राधिकरणले गत वर्षको भदौ १९ गते एनसेललाई ठगी गरेको रकम फिर्ता गर्न पत्राचार गरेको थियो । तर, एनसेलले कुनै प्रतिक्रिया नजनाएपछि पुनः २०७८ साउन १७ गते प्राधिकरणले स्पष्टीकरण मागेको थियो । एनसेलले भने तेस्रो पक्षलाई देखाएर आफू पन्छिएको थियो । 

प्राधिकरणले एनसेललाई १५ दिन भित्र गेमलफ्ट र हुवावे एप ग्यालरी नामको भ्यास सेवाको अटो रिन्यु प्याकको २०७७ जेठ १८ देखि हालसम्मको विवरण फेरी माग गरेको छ । 

त्यस्तै गेमलफ्ट र हुवावे एप ग्यालरी नामको एप ७ दिन भित्र विद्युतिय माध्यमबाट बस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि २०७६ को दफा ५ को ४ (क) बमोजिम हुनेगरि सञ्चालन गर्न निर्देशन दिएको छ । अन्यथा यो सेवा ७ दिन भित्र बन्द गरि प्राधिकरणलाई जानकारी दिन निर्देशन छ ।