लन्डन (कान्तिपुर दैनिकबाट ) । भूतपूर्व गोर्खा सैनिकहरूले समान पेन्सन लगायत अधिकारको माग गर्दै लन्डनमा शुरु गरेको आमरण अनशन १३ औं दिनमा बिहीबार अपरान्ह अन्त्य भएको छ । भूपू गोर्खा सैनिकका मागलाई लिएर तीन जना साउन २३ गतेदेखि अनशनमा रहेका थिए ।

गोर्खा मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरी उनीहरूका समस्या समाधान गर्ने लिखित प्रतिवद्धता जनाएपछि अनशन तोडिएको हो ।

OM Sai Pathibhara Hospital

बेलायती रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनशनस्थल पुगेर सत्याग्रहीहरूलाई जुस पिलाएर अनशन तोडाएका थिए ।

गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सत्याग्रहीले राखेको माग सम्बोधन भएपछि अनशन तोडिएको बताए ।

‘गोर्खाका मुद्धामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको छ । प्राविधिक संयन्त्रको सिफारिसकै जगमा बेलायत, नेपाल र गोर्खाहरूसहितको वार्ताको सहमति बनेको छ’, उनले भने ।

सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरूबीच प्रारम्भिक छलफल हुने र डिसेम्बरबाट मुख्य वार्ता शुरु हुने संयोजक राईले जानकारी दिए ।

गोर्खा सत्याग्रह संघर्ष समितिको आह्वानमा अभियन्ताहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनशनमा थिए । उनीहरूको यो आन्दोलनमा बेलायतस्थित नेपाली संघसंस्था र सिंगो नेपाली समुदायले ऐक्यवद्धता प्रकट गरेको थियो ।