काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् ।
अध्यक्ष दाहालले समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काईसौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका हुन् ।
उनले भने, “आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुंग्याउनुपर्छ भनेका छौँ । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने बित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।”
उनले अहिले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गरेका छन् ।
उनले भने, “पहिले ल्याएका अध्यादेश लोकतन्त्र र संविधान सिध्याउने उद्देश्यले ल्याइएका थिए, अहिलेको अध्यादेश लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षाका लागि ल्याइएको हो ।”
कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुँजीवाद दिगो हुनसक्दैन भन्नेमा विश्वमै आम सहमति बनिसकेको बताउँदै तर विकल्प कस्तो समाजवाद भन्ने बहस जारी रहेको बताए ।
उनले पुँजीवादसँगै अहिले प्रयोगमा रहेको पुरानो समाजवादको प्रयोग पनि असफल भएको टिप्पणी गर्दै समाजवादको नयाँ स्वरूपबारे पर्याप्त बहस र छलफल आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्री घिमिरेले लेखेको ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन अतिथिद्वय प्रचण्ड र डा. भट्टराईले गरेका थिए ।