एजेन्सी / तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि देश छाडेर गत आइतबार पैसा सहित फरार भएको भनिएका राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्स युएई पुगेको सार्वजनिक भएको छ ।

तालिबानले राजधानी कब्जाको प्रयास गरिरहेको समयमा देश छाडेर भागेका धेरै पैसा समेत लिएर उज्वेकिस्तान भागेको भनाई आईरहेका समयमा घानी युएई पुगेको पुष्टि भएको हो ।

युएई सरकारले समेत घानी आफ्नो देशमा आएको र मानवीय नाताले उनलाई शरण दिएको जनाएको छ । युएईको विदेश मन्त्रालयले मानवीय नाताले घानी र उनको परिवारलाई आफ्नो मुलुकमा बस्नका लागि स्वागत गरिएको जनाएको छ ।

हाल अफगानिस्तान कब्जा गर्न सफल तालिबान विद्रोहीका नेतालाई भने अर्को अरबी मुलुक कतारले शरण दिएको थियो । तालिबान विद्रोहीले मुलुक कब्जा गरेपछि मात्रै तालिबानी नेताहरू कतारबाट आफ्नो देश फर्केका थिए ।

देश छाडेपछि रसियाले सरकारी ढुकुटीको अर्बौं रुपैयाँ लिएर घानी भागेको दावी गर्दै आएको थियो । उनी पुगेको मुलुक र उनका विषयमा अनेकौं अड्कलबाजी भईरहेका समयमा बुधबार युएईमा रहेका घानीले भिडियो सन्देश जारी गरेर आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन् । रक्तपात र गम्भीर विपद आउन नदिन आफूले देश छाडेको बताएका छन् ।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘अहिले म युएईमा छु र रक्तपात अनि अव्यवस्था रोकियो । अफगानिस्तान फर्किनका लागि म अहिले तालिबानसँग वार्तामा रहेको छु ।’

उनले आफूमाथि लागेको ठूलो मात्रामा पैसा लिएर भागेको आरोप निराधार भएको पनि दावी गरेका छन् । फेसबुकमा लाइभ गरिएको भिडियो सन्देशमा राष्ट्रपति घानीले आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘घटनाक्रम निकै तीव्र गतिमा विकसित भयो । म तालिबानसँग समावेशी सरकारका लागि वार्ता गर्न चाहन्थेँ । तर परिवेश त्यस्तो बन्न नै पाएन ।’

७२ वर्षीय घानीले विपदका बेला देश छोडेको भन्दै अमेरिका र नेटोका सदस्य मुलुकले आलोचना गरिरहेका छन् ।