काठमाण्डौ / नेकपा एमाले भित्र लामो समय देखि कायम विवाद अन्ततः पार्टी विभाजनमा पुगेर टुङ्गिएको छ । एमालेका प्रभावशाली नेता माधव नेपाल समुहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै विवाद फुटमा पुगेर टुङ्गिएको हो ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली समर्थित नेता–कार्यकर्ता  र माधव नेपाल समुहका नेता–कार्यकर्ता बिचको विवाद उत्कर्षमा पुगेको थियो । पार्टी भित्रका दुई समुहबीच देखिएको विवाद मिलाउन दोस्रो तहका नेताले लामो समयदेखि गर्दै आएको प्रयास समेत बुधबारबाट निरर्थक बनेको छ ।
 
एमालेका प्रभावशाली नेता माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम समुहले अन्तत औपचारिक रुपमा नै पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधबार निवेदन दिएका छन् ।

नेपाल समुहले निर्वाचन आयोगसँग नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह  खुला किताब मागेको छ ।

नेपाल समुहका नेता मेटमणि चौधरीले  निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको पुष्टि गरेका छन् ।  नयाँ पार्टीको प्रमुख नेता माधव कुमार नेपाल नै संयोजक रहेको उनले जानकारी गराएका छन् ।

यि हुन् पार्टी विभाजनका प्रमुख कारण:

१. संसद् विघटन : ठीक भएको ओली समुहको तर्क, विघटन ‘प्रतिगामी कदम’  नेपाल समुह

२. राष्ट्रपतिको भूमिका : जायज रहेको ओली समुहको दाबी, राष्ट्रपतिले संवैधानिक मर्यादा मिचेको नेपाल समुहको भनाई  

३. संसद् पुनर्स्थापना : अदालतको कदम बेठिक भएको ओली समुहको भनाई,  संविधानको रक्षा भएको नेपाल समुहको जिकिर

४. देउवा प्रधानमन्त्रीमा नियुक्त :  नेपाल पक्ष भन्छ – लोकतन्त्रको रक्षाका लागि चालिएको कदम , नेपाल पक्षको भूमिका दक्षिणपन्थी कदम भएको ओली समुहको धारणा

५. नेकपा विभाजन : ओलीको स्वेच्छाचारी र निरंकुश कदम जिम्मेवार रहेको नेपाल पक्षको आरोप, विभाजनमा नेपाल समूह जिम्मेवार रहेको ओली समुहको दावी

६. पार्टीमा कायम मतभेद : एकता पूर्वको अवस्थामा एमालेलाई चलाउन ओली तयार नभएकोे नेपाल समुहको दाबी,  सहमतिका लागि नेपाल पक्ष तयार नभएको ओली समुहको जिकिर

७. राष्ट्रियताको मुद्दा :  ‘रअ’ प्रमुखसँग मध्यरातमा भेटेर ओलीले राष्ट्रियतासँग सौदाबाजी गरेको नेपाल समुहको आरोप , ओली प्रधानमन्त्री भएको समयमा नै राष्ट्रियता बलियो भएको ओली समुहको दाबी

८. अधिकारको लडाइ : विवाद टुंग्याउन नेपाल समुहको समान अधिकारमा दावी , समान अधिकार दिन ओली समुहद्वारा अस्वीकार 

९. आरोप–प्रत्यारोप : माधव नेपाल गद्दार भएको ओली समुहको आरोप, ओली नसुध्रिएको नेपाल पक्षको भनाई

१०. भ्रष्टाचार : ओली समुह सत्तामा हुदा भ्रष्टाचारमा डुबेको नेपाल पक्षको आरोप , सरकारले राम्रा काम गरेको ओली पक्षको दावी