काठमाण्डौ / जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।
निर्वाचन आयोगले उपेन्द्र यादव समुहलाई आधिकारीकता दिएपछि दलविहीन भएका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
राजनीतिक दल विभाजनका लागि सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर हुने गरी अध्यादेश ल्याएपछि ठाकुर – महतो पक्ष दल दर्ताका लागि आयोगमा निवेदन सहित गएको हो ।
नयाँ दलको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक रहेको छ भने अध्यक्षमा महन्थ ठाकुर रहेका छन् । नयाँ दलमा राजेन्द्र महतो वरिष्ठ नेता रहने छन् ।
नयाँ दलमा २५ सदस्यीय कार्यकारिणी समिति रहने प्रस्ताव गरिएको छ । नयाँ दलमा रेशम चौधरीसहित १५ जना सांसद रहेका छन् । ठाकुर – महतो पक्षले नयाँ दलको चुनाव चिह्न साइकल दिन निर्वाचन आयोगसँग प्रस्ताव गरेको छ ।